
विवाहमा पनि विद्रोह : रामनारायण विडारी
जन्मने मर्ने, सुत्ने, उठ्ने, सन्तान जन्माउने, काम त सबैले गर्छन् । सही मानिस त्यही हुन्छ जसले समाजलाई ब्युँझाउने काम गर्छ भन्ने मानसिकता राख्ने रुपचन्द्र विष्ट सानैदेखि विद्रोही स्वभावका थिए । उनले घर छाडेर आफ्नो चेतना र जीवन व्यवहारलाई सर्वहाराकरण गरे । त्यस समयमा उनीसँग कुनै सम्पत्ति थिएन । शिक्षा आर्जन गर्न पनि शारीरिक श्रम गरेर रकम जुटाउने उनको नीति बन्यो । वुर्जुवा शिक्षा नलिएमा समाजले हेय दृष्टि राख्ने भएकोले नै त्यो शिक्षा लिन आवश्यक परेको बताउने रुपचन्द्रको विभिन्न विधामा स्वअध्ययन थियो । सोही स्वाध्ययनले नै उनलाई दार्शनिक बनायो ।
विभिन्न अन्तर्वार्तामा योग्यताका बारेमा प्रश्न सोद्धा उनको जवाफ हुन्थ्यो – जान्न खोज्ने वा थाहा पाउन खोज्ने । शरीर वलिष्ट बनाउने पनि उनको दिन चर्या थियो । हुन पनि उनी असाधारण वलिष्ट शरीरका थिए । एक दर्जन मण्डलेले एकै पटक हमला गर्दा पनि रुपचन्द्रलाई खासै फरक पर्दैनथ्यो । दर्जनौँ प्रहरी पक्राउ गर्न आउँदा पनि पक्राउ गर्न सक्दैनथे उनले विवेक र बल दुवै, मान्छेको आवश्यकता हो भन्ने मान्यता राख्थे र सोहीअनुसार व्यवहार गर्दथे ।
उनले करिब ३६ वर्षको उमेरमा उमा शाहसँग क्रान्तिकारी शैलीको विवाह गरेका थिए । जुन विवाह सर्वसाधारणका लागि अनौठो र समाजका लागि विद्रोह थियो । प्रायः पुस महिनामा विवाह नगर्ने हाम्रो संस्कृतिलाई चुनौती दिँदै पुस १५ गते २०२६ का दिन विशाल जनसभाबीचमा विवाहको दुवैले सम्झौतामा हस्ताक्षर गरेका थिए । विवाहमा कुनै पनि प्रकारको खाने कुरा थिएन । परम्परागतको कुनै सङ्केत थिएन । बाजागाजा हुने कुरै थिएन । हेरौं उमा शाह र रुपचन्द्रबीचको विवाहको सार्वजनिक लिखित सम्झौता जस्ताको तस्तैः
”हामी दुई जनताबीचका जनहितलाई सर्वोपरी राख्ने छौँ । धन र मानलाई भन्दा, ज्ञान र व्यवहार रुचाउनेछौं । हाम्रो सम्पूर्ण बँचाई इन्साफ पक्षमा हुनेछ । प्रगति मार्ग नै हाम्रो जीवन-मार्ग हुनेछ ।”
विवाह पश्चात रुपचन्द्रले उमालाई उच्च शिक्षा दिलाउने खर्च पनि शारीरिक श्रम गरेर नै पूरा गरे । हरेक दिन हरेक व्यक्तिले सार्वजनिक श्रम गर्नुपर्ने उनको नीति थियो । सोही नीति अनुरुप उमाले पनि हाइस्कुल बनाउने काममा श्रम गर्न अनिवार्य थियो तर उमा र रुपचन्द्रबीच दाम्पत्य जीवन धेरै लामो समय टिकेन । यसपछि रुपचन्द्र सधैँ एकल जीवन बिताउनु थाले । यसका कारणहरूमध्ये तत्कालीन शासकले रुपचन्द्रलाई यातना दिने, मार्नेसम्मका योजनाहरू पनि हो । जसको कारण सँगसँगै बस्न सक्ने अवस्था पनि भएन । दुवैले विवाहमा गरेको घोषणामा रहनु पर्ने पनि थियो । अर्को रुपचन्द्रका केही नीति तथा स्वभावले पनि काम गर्यो ।
सायद श्रम नगरी खान नपाइने । जीविका गर्ने काम कसै गरी गर्ने र बाँकी जीवन समाजलाई दिनुपर्ने, विवाह त सन्तान जन्म दिनको लागि हो बाँकी काम समाज विकासमा नै लगाउनुपर्ने आदि उनको नियममा आबद्ध भई एउटी नारीले लामो समयसम्म एक्लै बसेर शासकसँग जुध्न कठिन भएर होला बीस रुपियाँ बाटो खर्च लिएर आफ्नै हातले उनले श्रम आफैँले गरेर बनाएको घर छोडेर गइन र त्यस बेलादेखि अन्तै छोराछोरी हुर्काएर बसिन् । पछि गएर तिनीहरूबीच सम्बन्ध विच्छेद भयो तर पनि एकले अर्कोलाई घृणा गरेनन् । सद्भाव नै राखि रहे । जब रुपचन्द्र राष्ट्रिय पञ्चायतमा सदस्यको उम्मेदवार बने त्यस समयमा उमाकहाँ केही मण्डले गएर रुपचन्द्र विरुद्धमा बोल्न दवाव दिए त्यस बेलामा उमाले रुपचन्द्रसँग दाम्पत्य जीवन बिताएको जनमुखी घोषणाको शक्ति देखाइन् तब मण्डलेहरू तर्सेर भागे ।
यो सन्देशले जनमुखी सहकर्मीहरूले उमाप्रति धेरै सद्भाव राखे । यो उमाको महानता थियो । जब २०४३ मा रुपचन्द्रलाई रापस हुँदा हँुदै सरकारले जेल हाल्यो । त्यस समयमा उमा पनि रुपचन्द्रलाई भेट्न सेन्टर जेलमा आइकी थिइन् । पङ्क्तिकार म र कलावती दिदी पनि रुपचन्द्र भेट्न गएका थियांै । हाम्रो भेट त्यहीँ भयो । उमा र रुपचन्द्रबीच सार्वजनिक एउटा मतदाता र प्रतिनिधिको जस्तो कुरा र व्यवहार भएको थियो । उमाले छोराछोरी चिनाउँदै भनेकी थिइन् । यी बच्चाहरू तपाईंका नासो हुन् । जिम्मा लिनु हुन्छ कि भनेर आएकी हुँ । रुपचन्द्रले जेलको बार -सिक्री) देखाउँदै भने यो अपराधी सरकारको व्यवस्थाले यिनीहरूलाई यहाँ भित्र र मलाई त्यहाँ बाहिर आउन दिँदैन । उमाले पनि भनिन् अघि पछि तपाईंलाई भेट्न गार्हो हुन्छ यहाँ तपाईंको ठेगाना स्थायी भएकोले आएकी हुँ, भेट्नलाई ।
त्यसपछि उमा र हामी बाहिर आयौं रुपचन्द्रसँग बिदा भएर । टुँडिखेलमा केहीबेर भलाकुसारी पनि गर्यौं । त्यसपछि मैले उनलाई भेटेको छैन । समाज सुधार गर्न हिँडेका रुपचन्द्रले समाज सुधार्न आफ्नो जीवन अर्पण गरे । हरेक क्षणमा समाजलाई ध्यान दिँदा घर परिवार आफन्त सबैसँग विछोडिए । तैपनि समाजै सुर्धानै लागि रहे तैपनि उनको उद्देश्य पूरा हुन सकेन । समाजका शत्रुहरूले उनलाई पराजित गरे । त्यसैले रुपचन्द्रले आफ्नो जीवनको अन्तिमतिर भनेका थिए : “मैले श्रमिक ब्युँझाउन खोजे, ती त अझै ब्युँझिएनन् । केही ब्युँझे ती पनि शत्रु कै पछि लागे । जनतालाई काम लागेनन् ।”
यति लामो समय जनताले रुपचन्द्रलाई भोगे तर उनको निजी परिवारलाई जनताले देख्नसम्म पाएनन् । रुपचन्द्रको परिवार सबै जनता परे । ठेगाना आफ्नै शरीर मात्र भयो । धेरै विरोधीहरूले उनलाई बौलाहा भन्थे । तिनीहरूलाई रुपचन्द्रले यस्तो भन्ने गर्दथे- मेरो नाम बौलाहा तेरो वुद्धि बौलाहा । उमाबाट छोराछोरी भए पनि रुपचन्द्रले सबै अरूलाई जस्तै व्यवहार गरे । संसार बदल्न हिँड्नेहरूको आफ्नु भन्ने छुट्टै कोही हुँदैन, सबै आफ्नु हो । रुपचन्द्रले यही नीति अवलम्वन गरे । रुपचन्द्रको नाममा काठमाडौँैमा छ आना जग्गा थियो । त्यो जग्गा उनलालाई बाबु पद्मबहादुर विष्टले अंश भाग दिएको छ । त्यही जग्गामा आफू र उमा मिलेर बनाएको घर धेरै वर्षसम्म रहृयो । त्यही घरमा सन्तान जन्मे ।
त्यो घर पनि नमुना लायक नै थियो । ड्रमको छाना, काठको बार आफँैले बनाएको भर्याङ र माटो काँचो इँटाको गारो । पछि त्यो घर भत्काएर इँटाको मात्र चाङ लगाएको ड्रमको छानोमा धेरै वर्ष बसेका थिए । उनले राष्ट्रिय पञ्चायतको सदस्य भएपछि त्यहाँबाट प्राप्त तलब भत्ताले पक्की घर बनाउन सुरू गरेका पनि थिए र क. जनमुखी संस्थाप्रति दान दिने योजना बनाएका पनि थिए तर त्यत्रो संस्था खोल्दा खोल्दै उनको मृत्यु भयो । योजना पूरा भएन । त्यो सम्पत्तिको बारेमा अरू राजनीतिक सहकर्मीलाई चासो भएन । उनको नजिकका हकदारले के गरे खोजीको विषय पनि भएन । सुने अनुसार त्यो सम्पति बिक्री न्युन मूल्यमा गरियो र त्यो पैसाले देवघाटमा सदावर्त चलाइएको छ । केही पैसा छोराछोरीलाई दिइयो भन्ने पनि छ ।
रुपचन्द्र छाप्रोमा बस्दा आफँै खान पकाउनु खाना प्रायः वैज्ञानिक दृष्टिकोणको हुन्थ्यो र कम पैसामा तयार हुने हुन्थ्यो । रागोको खुट्टालाई उमालेर त्यसको झोल चियाको सट्टामा खाने र आउनेहरूलाई पनि खुवाउने गर्दथ्र्यो । प्रायः उनी हाडलाई ससना टुक्रा पारेर भोकाएको बेलामा खाने र तरकारी र चामल मासु सबै एकै ठाउँमा हालेर पकाउने र खाने गर्दथे । यी कुरा अरूलाई सुन्दा अचम्म लागे पनि किफायती खालका हुन्थे । लिलामी जुत्ता कपडाहरू लगाउथें । राष्ट्रिय पञ्चायतमा जादा लगाउने कोट सुन्धारामा ३५ रुपियाँमा किनेका थिए । उनको दौरा सुरुवाल पनि ज्यामीले लगाउने जस्तो हुन्थ्यो । प्रायः खुकुलो लुगा लगाउने, श्रमिकले लगाए जस्तो लगाउने उनको आदत थियो । उनको हेडलाइट साइडलाइट नभएको थोत्रो कसैले दिएको स्कुटर थियो । एउटा यमराज लेखिएको अनौठो साइकल पनि थियो ।
वि.सं. २०४३ सालमा रा.प.स.लाई भन्सार छुटमा मोटर झिकाउने सुविधा सरकारले दियो तर मोटर झिकाउन उनीसँगको ४।५ लाख थिएन । त्यसैले गुणचन्द्र विष्टसँग सम्झौता गरे । पैसा गुणचन्द्रले हाल्ने, मोटर दुवै जनाको साझा हुने भयो । यहीअनुसार मोटर झिकाइयो । रुपचन्द्रले सो मोटर सधंै राजनीतिमा प्रयोग गर्नु भयो । उनको कुनै पनि निजी काम थिएन । मोटर सधै राजनीतिमा प्रयोग हुने भए पछि गुणचन्द्रले उनलाई दुई लाख जाने अर्को मोटर किनी दिए । सो मोटर रुपचन्द्रले राजनीतिमा प्रयोग गरिरहे तर अहिले सो मोटर कहाँ छ ? जानकारी छैन । रापस सुविधाको मोटर गुणचन्द्रको जिम्मामा छ । त्यस मोटरमा परेको रकम पनि निज गुण चन्द्रकै हो । यसरी रुपचन्द्रले शक्ति साधन औजार जिन्दगी, सम्पति, परिवार, राजनीति दर्शन निम्ति अर्पण गरे । - युवामञ्च



