
काठमाण्डौं, १० असार । राष्ट्रपति डा. रामवरण यादबले प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रिय सहमति जुटाउन असफल भएको निष्कर्ष सहित नयाँ गृहकार्य थाल्नुभएको छ ।
प्रधानमन्त्रीको दल एकीकृत नेकपा माओवादी र उपप्रधानमन्त्री विजयकुमार गच्छादारको दल मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) दुवै फुटेकाले सरकारको विकल्प खोजिएको बताइएको छ ।
लोकतान्त्रिकबाट फुटेर अर्को दलको घोषणामा लागेका नेता शरतसिंह भण्डारीले शनिबार राष्ट्रपतिलाई भेटेर राष्ट्रिय सहमितको सरकार निर्माणका लागि आग्रह गर्नुभएको थियो ।
एकीकृत नेकपा माओवादीबाट एक तिहाई केन्द्रीय सदस्य र पूर्व सभासद्सहित फुटेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पनि प्रधानमन्त्रीलाई हटाएर अन्तरिम संयुक्त सरकार बनाउनुपर्ने निर्णय गरेको छ ।
बैद्य पक्ष र भण्डारी पक्षको समर्थनमा गत भदौ ११ गते प्रधानमन्त्री चयन हुनुभएका प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आफुहरुको समर्थन नरहेको भन्दै बैद्य र भण्डारी दुवैले लिखित रुपमा राष्ट्रपतिलाई वर्तमान सरकारको विकल्प खोज्न आग्रह गरेकाले राष्ट्रपतिले सरकारको विकल्पबारे निर्णय लिनुपर्ने बेला आएको उहाँको एक सहयोगीले जानकारी दिनुभयो । - नागरिक दैनिक
कोइराला प्रधानमन्त्रीका लागि तयार
यसैबीच नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमति बन्ने अबस्थामा प्रधानमन्त्री बन्ने तयारीमा लाग्नुभएको छ ।
एमाले लगायतका सहकर्मी दल र आफ्नै दलभित्रबाट कांग्रेसलाई प्रधानमन्त्री उम्मेदवार तोक्न दबाब परेपछि सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने तयारीमा लाग्नुभएको हो ।
आफु प्रधानमन्त्री बन्न अस्वीकार गर्दै नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उमेद्धारी प्रस्ताव गर्दै आउनुभएका कोइरालाले शनिबार केही नेताहरुसँग आन्तरीक छलफल गरी प्रधानमन्त्री बन्न तयार हुनुभएको हो । - राजधानी दैनिक



