
काबुल, ८ असार । अफगानिस्तानको एक होटलमा गरिएको आक्रमणमा परी मर्नेको संख्या १८ पुगेको छ । राजधानी काबुलको पश्चिम भागमा अवस्थित एक प्रसिद्ध होटेलमा तालिबानी बन्दुकधारीहरूले गरेको आक्रमणमा ती सर्वसाधारण नागरिकको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जनाएको छ ।
राजधानी काबुलदेखि बाहिरी इलाकाको अत्यन्त सुन्दरस्थलमा अवस्थित यस होटलमा आक्रमणको क्रममा बन्धक बनाइएका ३५ देखि ४० व्यक्तिलाई अफगान सुरक्षा बल र नेटोसँग आबद्ध सैनिकले मुक्त गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
आक्रमणअघि त्यसमा संलग्न हतियारधारीले सो होटलमा रहेका महिला र बालबालिकालाई बन्दी बनाएका थिए। तर पछि सो घटनामा परेका उनीहरुको उद्वार गरिएको बताइएको छ ।
आक्रमणको क्रममा आतङ्ककारीहरूले स्वचालित हातहतियार, रकेट र गोली प्रहार गरेको समाचारमा उल्लेख छ। सो आक्रमण तालिबानीले गरेको पुष्टि भइसकेको समाचारमा जनाइएको छ।
उक्त आक्रमण स्थानीय समयअनुसार बिहीबार राति ११ बजेबाट सुरु भएको समाचारमा उल्लेख छ । तालिबानी आतङ्ककारीद्वारा बन्धक बनाइएका नागरिकमा महिला र बालबालिकासमेत रहेका पनि समाचारमा उल्लेख छ।
काबुलको बाहिरी इलाकामा अवस्थित कार्घाताल इलाकामा सो होटेल रहेको जनाइएको छ । होटलमा सुरु गरिएको जन्मदिन मनाउने समारोहमा सो आक्रमण गरिएको थियो ।
अफगानिस्तान सरकारसँग गत एक दसकदेखि युद्धरत तालिवानी आतङ्ककारीले यस घटनाको जिम्मा लिएको समाचारमा जनाइएको छ । सो आक्रमणको निसानामा रहेका होटलका अरु पाहुनाको उद्वारका लागि सैनिकले आज दिनभरजसो नियन्त्रणमा लिएर काम गरेको थियो । - रासस/एएफपी



