
योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल, ४ असार । सबै प्रवासीलाई देशका हरेक गतिविधिमा चासो हुने उल्लेख गर्दै आदिवासी जनजाति महासंघ पोर्तुगलले सचिवालय महासचिव आङकाजी शेर्पालाई एमालेबाट निष्काशन गर्नु 'समग्र जनजातिलाई हाउगुजी देखाएको' ठहर गरेको छ ।
"प्रमुख चार दलसहित ठूला नेता भनाउँदाहरुको आज्ञा शिरोधार्य गरेका सभासद्हरुले युगकै लागि अक्षम्य गल्ती गरे । काँग्रेस र एमालेलाई जातीय पहिचानसहितको संघीय संरचनाका लागि निर्णय गर्न पनि आफ्नै पुर्ख्यौली विर्ता खोसिने जत्तिकै गाह्रो लाग्यो ।" पोर्तुगल महासंघका कार्यबाहक अध्यक्ष गणेश लिम्बु र महासचिव दावा साङ्गे पाख्रिनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "सहमति गर्दा राम्रो गरेको ठान्ने माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेता कार्यकर्ताबाटै ती प्रतिवद्धताहरुको उल्लङ्घन भएका कारण संविधान निर्माण हुन नसकेको कुरा स्पष्ट छ ।"
आफैले गल्ति गरेको थाहा छ तर आफु पानीमाथिको ओभानो हुन अरुलाई दोषारोपण गर्दै फेरि पनि सत्ता र कुर्सीलाई बार्गेनिङ प्वाइन्ट बनाउनु तीन करोड नेपालीको भविष्य माथि खेलवाड हो । परिवर्तनकामी वर्गले इतिहासको हरेक कालाखण्डमा जहाँ पनि परिवर्तनको संघारनेर अनगिन्ती चुनौतिहरुको सामना गर्नुपर्छ विज्ञप्तिमा उल्लेख छ, अझै प्रहारहरु हुन सक्छन् ब्राह्मणवादी झुण्डहरुबाट, अन्तत सत्यको जितलाई कुनै पनि जालझेल र ताकतले रोक्न सक्ने छैन ।
परिवर्तन क्रम र युगको माग अनुसार शताब्दीयौदेखि अधिकारबाट बन्चित बनाइएका समग्र आदिवासी जनजाति, दलित, महिला, मधेशी, फरक क्षमता भएका र शोषित पीडित वर्गलाई मूल प्रवाहमा ल्याउँदा यिनीहरुको ठगी खाने पेशा समाप्त हुने डरले जे जस्तो हठकण्डा अपनाएका छन्, यी अत्यन्त खेदजनक र आपत्तिजनक छन् ।
हिजोका दिनमा आदिवासी जनजातिमा सूचिकृत हुन सरकार र आधिकार सम्पन्न आयोगले आव्हान गर्दा आदिवासीलाई दोश्रो दर्जा ठान्ने बाहुन क्षेत्रीका अहिलेका नेता भनाउँदाहरुबाट नकटो भेषमा आदिवासी बन्ने नक्कली मागमा हाम्रा सम्भावनाहरुमाथि खेलवाड गरिदैछ । महासंघले भनेको छ, यो चुनौतिपूर्ण घडीमा तमाम पछाडि पारिएका वर्ग पक्षधरहरु सचेत, सक्रिय भइ वारपारको परिवर्तनका लागि एकपटक आफूलाई होम्नुपर्ने बेला भएको छ ।
संविधान निर्माणका लागि दबाव दिन, गलत संस्कृतिको विरुद्ध संघर्ष गर्न र ठाउँ ठाउँमा खबरदारी गर्न सबै परिवर्तनकामी नेपालीलाई महासंघले आव्हान गरेको छ । जहाँ नागरिकले स्वतन्त्रता पाउँछन् त्यहाँ कहिल्यै जातीय द्वन्द हुँदैन, बरु अधिकारबाट बन्चित गर्ने संस्कारविरुद्ध संसारका थुप्रै मुलुकहरुमा डरलाग्दा लडाइहरु भएका छन् । विज्ञप्तिमा जातीय पहिचानसहितको राज्य पुनर्संरचनाका लागि पहल गर्न प्रतिबद्धता र नेपालमा भइरहेका जनजाति आन्दोलनमा ऐक्यबद्धता जनाइएको छ ।
ब्राह्मणवादी र संकीर्ण सोचका कारण फालिने जाली पासाहरुमा नफस्न र सचेत रहन सबै जनजातिहरुमा महासंघले अनुरोध गरेको छ । दलीय स्वार्थभन्दा जनजातिका जायज मागहरु पूरा गराउनका लागि एकजुट हुन पनि विज्ञप्तिमा आव्हान गरिएको छ । जनजाति र पछाडि पारिएका वर्गलाई अधिकार दिनुपर्ने मागको बर्खिलापमा दलहरु र हुनेखानेहरुले कुनै पनि चिन्तन र गतिविधि नगर्न पनि महासंघले खबरदारी गरेको छ ।



