काठमाण्डौ, ६ असार । शिविरमा रहेका सवै हतियार नेपाली सेनालाई बुझाएको भनिएपनि थुप्रै हतियार माओवादीसँगै रहेका छन् । तर, यी हतियार को को सँग छन भन्ने टुंगो नलाग्दै माओवादी फुटेको छ ।सरकारलाई बुझाउनैपर्ने हतियार बोकेर हिडिरहेका जनसेनाका पूर्व डिभिजन उपकमाण्डर उदयबहादुर चलाउने वैद्य समूहको हालैको भेलामा सहभागी भए पनि राज्यले उनीसित हतियार माग्न सकेको छैन् ।
सेना समायोजन बिशेष समितिको सचिवालयलबाट प्राप्त बिबरणअनुसार माओवादीका सातवटै डिभिजनबाट सेनाले ३ हजार ४ सय १७ थान हतियार जिम्मा लिएको छ । शिविरमा प्रमाणिकरण गरि राखिएका ३ हजार ५ सय ५५ थान हतियारमध्ये अहिलेसम्म माओवादीले ३८ थान हतियार बुझाएको छैन् । स्रोतका अनुसार यसरी बाहिरै राखिएका हतियारमध्ये २७ थान राजधानीमै छन् । तर बैद्य वा प्रचण्ड कुन समुहसँग यी हतियार छन भन्ने यकिन भएको छैन् ।
सचिवालयको सूचीमा ती हतियार आउन बाँकी रहेको भनिएको छ । शिविर छाडेर बाहिर गइसकेकाहरुलाई पनि यस्ता हतियार राख्न दिनुले राज्यबिहीनताको अबस्था देखिएको छ । - जनआस्था साप्ताहिक



