
रूपन्देही, ७ असार । बुटवलका सुनचाँदी व्यापारी चन्द्रमान गहतराजले आफ्नै श्रमतीलाई क्रुर यातना दिएका छन् । मंगलबार राती निर्घात कुटपिट गर्दै योनीमा खुर्सानी दलेर २६ वर्षीया श्रीमती अन्जुलाई उनले चरम यातना दिएका हुन् । चन्द्रमानले मंगलबार रातभरि जुत्ता, मुड्कीले हिर्काउनुका साथै खुकुरीले योनीमा प्रहार गरेर हत्या प्रयास गरेको पीडितले बताएकी छन् ।
मानवअधिकारकर्मी र परिवारजनहरुको सहायतामा बुधबार ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकी अन्जुले रुदै भनिन् - ‘मैले जे भन्छु त्यो मान्छेस् कि मान्दिनस् भन्दै रातभरि कुट्नुभयो ।’ उनका अनुसार परपुरुषसँग लसपस गरेको आरोप लगाउदै ४/५ जना बाहिरी केटाहरुसंग अवैध सम्पर्क गर्न दवाव दिदै रातभरि कुटेका हुन् । श्री पाल्पाली अवतार सुनचचाँदी पसल बुटवल अमरपथका संचालक उनले अन्जुलाई परपुरुषसंग लागेको भन्दै दिनहुँजसो कुट्ने गरेका थिए । श्रीमान चन्द्रमान साझ दोकान बन्द गरेर घर (सुख्खानगर डेरा) मा आउने वित्तिकै कोठा थुनेर आज तैले नराम्रो काम गर्नुपर्छ भन्दै पिट्न थालेको अन्जुले बताईन ।
‘मैले जे भन्छु त्यो मान्नैपर्छ, तँ विग्रेकी मान्छे होस तेरो भिडियो खिचेर राख्छु’ भन्दै बाहिरी केटाहरुलाई बोलाउन फोन गर्नुभयो’ उनले रुदै भनिन् - ‘मैले केही पनि गरेको छैन, किन यस्तो गर्नुहुन्छ भन्दा खुकुरी देखाएर काट्न खोज्नुभयो ।’ अन्जुको दायाँ हात र शरीरमा निलडाम छ । अनुहारमा चिथोरेको घाउ छ । पीडित अन्जुका अनुसार पटक पटक केटाहरुसंग सम्पर्क गर्छेस् कि गर्दिनस् भन्दै खुकुरी देखाउन थालेपछि उनी ट्वाईलेन्ट भित्र गएर बसेकी थिइन् । टवाईलेटमा बस्दा पनि मार्ने धम्की दिएर बाहिर निकालेपछि गुप्ताङमा खुर्सानी छर्केर खुकुरीले काट्ने प्रयास गरेको उनले सुनाईन् ।
पटक पटक चिच्याउदा पनि खुकुरी देखाएर हत्या प्रयास गरेपछि उनले नन्द र देवरहरुलाई खबर गरेकी थिईन् । छिमेकीहरुले मानव अधिकार आयोगलाई खबर गरेपछि बुधबार दिउसो ईलाका प्रहरी कार्यालय बुटवलमा मुद्धा दर्ता भएको हो । ‘विहान पुग्दा अन्जुलाई हेर्न सक्ने अवस्था थिएन’ - छिमेकी जया पौडेलले भनिन् । अवस्था निकै दर्दनाक देखिएपछि तुरुन्तै अञ्चल अस्पतालमा लगेर उपचार गराईएको उनले बताईन् ।
दुई सन्तान भएका उनले अन्जुसंग १० बर्षअघि विवाह गरेका थिए । परिवारका अनुसार उनको तेस्रो विवाह हो । पहिलो श्रमितीले छाडेको र दोस्रो श्रीमतीलाई जलाएर मारेको आफन्तहरुको आरोप छ । परपुरुषसंग लागेको भन्दै दाईले पटक पटक भाउजुलाई पिट्ने गरेको चन्द्रमानका भाई राजु गहतराजले बताए । ‘हामीले धेरै पटक सम्झायौं’ उनले भने–‘अस्ति (मंगलबार) त भाउजुलाई हेर्ने नसक्ने गरि पिटेछन् ।’ उनले दाजुले अन्याय गरेको भन्दै कानुन अनुसार कारवाही हुनुपर्ने बताएका छन् ।
परिवारका अन्य सदस्य समेत चन्द्रमानको गल्ति भएको बताएका छन् । बहिनी माया गौतमले भाउजुको अवस्था देखेर आफुलाई पीडा भएको बताईन् । उनले एउटी महिलामाथि दाईले गरेको व्यवहार मान्छेले गर्ने लायक नभएको बताईन् । उनका अनुसार दाइले शंका गर्न थालेपछि असार १ गते छोडपत्र समेत भएको थियो ।
ईप्रका बुटवलकी महिला सेलकी प्रहरी ज्योती कुँवरले घटना अत्यन्तै निकृष्ट खालको भएकाले कानुन बमोजिम कारवाही गरिने बताईन् । उनले महिलामाथि गरिएको हिंसाको यो घटनालाई मिलेसम्मको कारवाही र पीडितलाई न्याय दिलाउने पक्षमा रहेको बताईन् । चन्द्रमानलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।



