
काठमाण्डौं, ४ असार । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले सरकारलाई जानकारी नै नदिई उतै अर्को पदका लागि आवेदन गरेका छन् । राष्ट्रसंघमा देशको प्रतिनिधित्व गर्ने उनले आफूखुसी अर्को पदमा आवेदन दिएको जानकारी पाएपछि प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयसमेत आश्चर्यमा परेका छन् ।
आचार्य राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि मात्र होइनन् नेपाल सरकारका बाहालवाला सचिव पनि हुन् । तर, उनले सरकारलाईनै जानकारी नगराई अति कम विकसित मुलुकहरुको छाता संगठन (एलडिसी) हेर्ने राष्ट्रसंघीय ‘हाई रिप्रिजेन्टेटिभ’ एवम उपमहासचिव पदमा आवेदन दिएका छन् ।
आफ्नो प्रतिनिधिले राष्ट्रसंघको उपमहासचिव पदमा आवेदन दिँदा सरकारलाई समेत थाहा नहुँदा अन्तराष्ट्रिय जगत्मा नेपालको साख कमजोर भएको एक परराष्ट्र विश्लेषकले बताएका छन् । उनले भने ‘आचार्यले त्यो पद पाए उनको व्यत्तिगत सफलता मानिनेछ, नपाए नेपालको हार हुने छ ।’ व्यक्तिगत पहलमा त्यो पद पाउन निक्कै गाह्रो रहेको पनि उनको विश्लेषण रहेको छ । - नयाँ पत्रिका



