
काठमाण्डौं, ४ असार । एकीकृत नेकपा माओवादीका राज्य कमिटी सदस्य शिव डाँगीले चैत दोस्रो साता सगरमाथा चढ्न जानुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अनुरोध गरेका थिए ‘पार्टीलाई जसरी भए पनि एउटै राख्नुहोस्, पार्टी फुटे थुप्रै परिवार फुट्न सक्छन् ।
उनको चिन्ताको रहस्य तीन महिना वित्न नपाउँदै खुल्यो, जतिवेला उनकै धर्मपत्नी सरस्वती पोखरेल अगल पार्टी बनाउने उद्देश्यका साथ बौद्धमा शनिबार बैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भईन् ।
‘आजसम्म त केही समस्या छैन, नौ बर्ष अघि बैवाहिक सम्बन्धमा बाँधिएका शिवले भने ‘पार्टी फुट्दा भने असजिलो हुनेछ ।’
बौद्ध भेलामै भेटिएकी सरस्वतीले खरिपार्टी भेलासँगै सुरु भएको आपसी वैचारिक भिन्नता त्यस यता बढ्दै गएको खुलस्त पारेकी छिन् । ‘पालुङटार बैठकपछिका एक दुई महिना त बोलचाल पनि भएन हेरौं अब के हुन्छ, उनले भनिन् ।
वैचारिक विवादले कोठा समेत तात्न थालेपछि पछिल्लो चरणमा उनीहरुले कोठामा राजनीति नछिराउने सहमति गरेका छन् ।
आफ्नै कोठामा समेत दुवैजना गोप्य रहनुपर्ने स्थिति आयो’, कोचिला राज्य कमिटी सदस्य रहेकी सरस्वतीले भनिन् ‘ उहाँसँग संस्थापन पक्षका योजना हुन्छन्, मसँग किरण पक्षका रुपरेखा ।
यसरी बैवाहिक अवस्थामा रहेका माओवादीका धेरै नेता कार्यकर्ता बीचको सम्बन्ध यस्तो रहेको उनीहरुले जानकारी दिएका छन् । - नागरिक दैनिक



