
काठमाण्डौं, ५ असार । चीनको खासा बजारमा होटल तथा रेस्टुरेन्टमा यौनधन्दा गर्नका लागि नेपालबाट चीनको खासा लैजाने गिरोहका मुख्य नाइके सोमबार सीमा प्रहरी कार्यालय, लार्चाले कोदारीबाट पक्राउ गरेको छ । राजधानी लगायतका विभिन्न स्थानबाट यौनधन्दाका लागि नेपाली चेलीहरु खासा लैजान सक्रिय दोलखाका असिम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
केही महिनाअघि खासा लगिएका दुई नेपाली चेलीको माइती नेपालले उद्धार गरेपछि असिमले उनीहरुलाई खासा लगेको बयानका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभएको छ ।
मोटरसाईकलबाट कोदारी जाँदै गर्दा सोमबार दिउँसो असिमलाई पक्राउ गरिएको हो । उनीविरुद्ध कुनै लिखित उजुरी नपरे पनि मौखिक उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । - राजधानी दैनिक



