
तनहुँ, ५ असार । उमेर ८० नाघे पनि आफुलाई जवान सम्झन्छन् ढोरपार्टी १, गुर्दुमका टोपबहादुर महत । आठ पत्नी भित्र्याएका महत अझै एक विहे गर्न चाहन्छन् । ‘नौवटी पुर्याउनु जस्तो लाग्छ,' गाला चाउरी परीसकेका महतले भने ‘बुढेसकालमा एउटा सहारा चाहिँदो रहेछ ।’
२००९ सालमा केन्द्रकुमारीसँग विहे गरेका उनले दुई बर्ष नवित्दै लीलाकुमारीलाई भित्र्याए । कारण थियो पुत्र मोह ।
‘छोराको मोह थियो, छोरी जन्मिएपछि अर्की ल्याएको हो, उनले भने, लीलाकुमारीले पनि एउटी मात्र छोरी जन्माईन् । दुबै पत्नीबाट छोरो नजन्मिएपछि महतले २०२३ सालमा एकै बर्ष तीनवटी भित्र्याए-विष्णुमाया, कालीमाया, र जिमकुमारी ।
‘जिमकुमारीलाई त झन पञ्चेबाजा बजाएर भित्र्याएको हुँ,’ खुसीहुँदै महतले सुनाए । बिहेको क्रम रोकिएन । २०२४ सालमा दमन्तकुमारीसँग बिहे गरे भने २७ सालमा स्थायीमायासँग । ‘सातवटी ल्याउँदा पनि छोरा भएनन्’ महतले भने, ‘सबै बिहे गर्न राजीखुसी थिए, आखिर कसले भो भनोस् टोपबहादुरलाई ।’
२०३० सालमा जिमकुमारीले छोरो जन्माएपछि भने उनी खुसी भए । महतले छोरो जन्मेको १२ बर्षपछि पनि धनकुमारीसँग विहे गरे । अहिले त आठ छोरा र आठ छोरी भएका छन् उनले भने ।
जीवित रहेका पाँच जना श्रीमतिहरु सवै आ आफ्नै घरधन्दामा व्यस्त रहने भएकाले फेरि अर्को बिहे गर्ने चाहना छ, महतले भने- 'क्यानडा, अरब, दुवईमा छोराहरुले राम्रो काम त गरेका छन् तर आफुलाई हेरेनन् छोराको रहर व्यर्थ रहेछ ।'
टोपबहादुर पाँचजना श्रीमतीकामा समय मिलाएर जाने गर्छन् । उनकी कान्छी श्रीमति धनकुमारीले भनिन् ‘सात जना छन् भनेर थाहा पाएर नै विवाह गरेकी हुँ, अहिले हामी सवै खुसी छौ ।’ - नागरिक दैनिक



