
काठमाण्डौं, ७ असार । बर्षको राष्ट्रिय मानपदवी, अलंकार र पदक बनाउन सरकारलाई झन्डै नौ करोड लाग्ने भएको छ । जेठ १५ मा घोषणा भए पनि यी मानपदवी, अलंकार र पदक अहिलेसम्म बनेका छैनन् ।
सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै गणतन्त्र दिवसको दिन १५ जेठमा एक सय ६४ जनालाई मानपदवी, अलंकार र पदक दिने घोषणा गरेको थियो । गृह मन्त्रालय आन्तरिक व्यवस्थापन महाशाखाका अनुसार सवै तक्मा बनाउन अर्थ मन्त्रालयसँग झन्डै नौ करोड रुपैयाँ माग गरिएको छ ।
मानपदवी, अलंकार र पदकलाई सामान्य बोलीचालीको भाषामा तक्मा भनिन्छ । तक्मा वितरण र व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालयले तक्मा बनाउन सुरु गरेको पनि छैन ।
अर्थमन्त्रालयबाट रकम प्राप्त भएपछि मात्रै तक्मा बनाउन सुरु गरिने गृह मन्त्रालयले जनाएको छ ।
अघिल्लो बर्ष सरकारले सशोभन समारोह गरी गत ९ जेठमा राष्ट्रपति डा रामबरण यादब मार्फत दुई सय ७० जनालाई तक्मा वितरण गरेको थियो ।
गृहले दिएको जानकारी अनुसार सवैभन्दा ठूलो तक्मा भनिएको नेपाल रत्न बनाउन १५ लाख रुपैयाँ खर्च हुने, दोस्रो ठूलो पदक राष्ट्रिय गौरव बनाउन १२ लाख रुपैयाँ लाग्ने जनाएको छ । - नयाँ पत्रिका दैनिक



