
वार्सा (रोयटर्स), ७ असार । यूरोकप फूटबल प्रतियोगितामा आजदेखी क्वार्टरफाईनल चरणका खेलहरु सुरु हुंदैछन् । युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज चेक रिपब्लिक र पोर्चुगल भिड्ने भएका छन् ।
दुई सहआयोजक पोल्यान्ड र युक्रेन प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए । प्रतियोगिताको अन्तिम आठमा पारम्परिक युरोपेली फुटबल महाशक्तिले नै प्रवेश पाएका छन् ।
अब फ्रान्सले शनिबार हुने खेलमा युरो तथा विश्वकप विजेता स्पेनको सामना गर्नेछ । आइतबार हुने अर्को खेलमा इंग्ल्यान्डको सामना इटालीसँग हुनेछ । शुक्रबारको दोस्रो क्वाटरफाइनलमा जर्मनी र गरीस भिड्नेछन् ।
पूर्वी युरोपले पहिलोपल्ट आयोजना गरेको युरोपेली च्याम्पियनसिपमा लिग चरणका सबै खेल समाप्त हुँदा कुनै पनि प्रतिस्पर्धा गोलरहित टुंगेनन् । लिग चरणमा पहिलो खेल जित्ने चार टिम प्रतियोगिताबाट निराशाजनक रूपमा बाहिरिए । रुस, डेनमार्क, क्रोएसिया र युक्रेन अभाग्यशाली टिम रहे ।
यससँगै युक्रेनी फुटबलका सबैभन्दा ठूला स्टार आन्द्रेयी सेभचेन्कोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने भएका छन् । प्रतियोगिताले नकआउट चरण प्रवेश गर्दा विवादबाट भने मुक्त रहेन । युक्रेनले मान्यता नपाएको गोलबाहेक प्रतियोगितामा राजनीतिक र रंगभेदी रङ पनि देखियो ।
जर्मनी र गि्रसबीच राजनीतिक र कूटनीतिक विवाद भइरहेका बेला यिनै देशबीचको खेल तनावपूर्ण हुने सक्ने अनुमान छ । यूईएफएले रंगभेदी व्यवहारका कारण कारबाही गरेका देशमा क्रोएसिया पनि परेको छ । उसलाई एक लाख एक सय चार डलर जरिवाना गरिएको छ ।



