
काठमाण्डौ, ११ असार । नायक राज घिमिरे लगायतका कलाकर्मीलाई फेसबुक र एसएमएस गरी धम्काउने कलाकार दिक्पाल कार्कीले आफुले गल्ती गरेको भन्दै माफी मागेका छन् । स्रोतका अनुसार उनले प्रहरीसमक्ष गल्ती भएको बयान दिंदै मेलमिलापका लागि राजसँग आग्रह गरेका छन् । बिनिताको उक्साहटमा आफुले म्यासेज पठाएको प्रारम्भिक बयान दिएका दिक्पालले अहिले साथीले आफ्नो फेसबुकबाट म्यासेज पठाइदिएको भन्दै बिनितालाई बचाउन खोजेका छन् ।
बुधवारदेखि हिरासतमा रहेका कलाकार दिक्पाल कार्कीलाई प्रहरीले १३ गतेसम्म हिरासतमा राख्नेछ । यो समयसम्म मेलमिलाप भएमा उनलाई रिहा गरिने छ । जिल्ला प्रशासनमा जरिवाना तिरेर दिक्पाल छुट्न लागेको स्रोतको दावी छ ।
राजले पनि दिक्पाललाई सुध्रिन मौका दिने सोंच बनाएका छन् । राजको ठम्याइ छ - दिक्पाललाई उचाल्ने बिनिता नै हुन् ।
मलाई फसाइयोः दिक्पाल
आइतवार उनले आफुलाई फसाउन खोजेको दाबी गरे । ‘मैले केही गल्ति गरेको छैन, मलाई फसाउन मात्र खोजिएको हो ।’ उनले भने- ‘मेरो नामवाट उज्ज्वलले म्यासेज गरिदियो ।’
यही काण्डमा मुछिएकी नायिका बिनिता भने राजले आफुसँग ‘चपलीहाईट’को रिस पोख्नका लागि षडयन्त्र रचेको आरोप लगाएकी छिन् । ‘चपली हाईट बिनिको नामले चल्यो भन्ने वजारमा खवर गएपछि राजले आफु छायाँमा परेको महसुस गरेको थियो ।’ बिनिता भन्छिन- त्यसैको रिस फेर्न यो नौटंकी रचिएको हो ।
बिनिताको आरोप त केसम्म छ भने बिनिताले उक्साएर म्यासेज गरेको बयान दिएमा दिक्पाललाई छुटाउने र बिनितालाई जेल हाल्ने आश्वासन दिएका छन् रे ।
उनले भनिन्, उज्ज्वल वारम्वार हाम्रो घरमा आउँथ्यो, दिक्पालको ल्यापटपमा उसको फेसवुक पनि चलाउँथ्यो । अहिले थाहा भयो- ‘योजना वुन्नका लागि उ हाम्रो घरमा आउँदो रहेछ । दिक्पाल र विनिता एक अर्कालाई दिदी भाई मान्दै आएका छन् । - अनलाइनखबर



