
काठमाण्डौं, ११ असार । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटीईभीटी) ले प्राकृतिक चिकित्सकको नक्कली प्रमाणपत्र पेस गर्ने १४ व्यक्तिलाई सीप परिक्षण गरी नेचुरोप्याथिक फिजिसियनको प्रमाणपत्र दिएको छ । यो प्रमाणपत्र सिटीईभीटीले दिएको हालसम्मकै सबैभन्दा उच्च (लेवल फोर) तहको हो ।
श्रीलंकाको कोलम्बोमा रहेको भनिएको द ओपन इन्टरनेसनल युनिभर्सिटी फर कम्प्लिमेन्ट्री मेडिकल (मेडिसिना अल्टरनेटिभा) नामक नक्कली विश्वविद्यालयले जारी गरेको व्याचलर अफ योगिक साईन्स (र्बीनबीवाईएस) को नक्कली प्रमाणपत्रका आधारमा सीटीईभीटीले सीप परिक्षण गरी नेचुरोप्याथीक फिजिसियनको प्रमाण दिएको छ ।
त्रिभुवन विश्व विद्यालयले समकक्षता नदिने र समकक्षता नभएर स्वास्थ्य व्यवसायी परिषदले डाक्टरको लाईसेन्स नदिने भएकाले उनीहरुले नक्कली प्रमाणपत्रलाई मान्यता दिन सीटीईभीटीको सहायता लिएका हुन् ।
सीटीइभीटीले सम्बन्धित क्षेत्रका विज्ञहरुको समुहबाट पाठ्यक्रम बनाएर सीप परिक्षण गरी प्रमाणपत्र दिएको हो । नेचुरोप्याथिक फिजिसियनको पाठ्यक्रम बनाउने विज्ञ समुहमा भने नक्कली डाक्टरहरु नै रहेका छन् । उनीहरुले नै उक्त पाठ्यक्रम अनुमोदन गरी आफ्नै सीप परीक्षण गराएर नेचुरोप्थाथिक फिजिसियनको प्रमाणपत्र लिएको स्रोतले जनाएको छ । - कान्तिपुर दैनिक



